जनकपुर–जयनगर रेलवे सेवा असार महिनाभित्रै सञ्चालन हुने भएको छ ।
लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको रेलवे सेवा असार महिनाभित्रै सञ्चालन गर्ने गरी तयारी भैरहेको हो । कोरोना महामारीको अवस्था साम्य हुँदै गएपछि रेल सञ्चालनका लागि तयारी गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले रेल विभागलाई निर्देशन दिनुभएको छ । रेल सञ्चालनसम्बन्धी कानुन अध्यादेशबाट आइसकेका कारण आवश्यक तयारी गरी तत्काल रेल सञ्चालन गर्न मन्त्री नेम्वाङले रेल विभागलाई निर्देशन दिनुभएको हो । नेपाल रेलवे कम्पनीले रेल सञ्चालनका लागि आवश्यक कर्मचारी, टिकट, भाडादरसहितका कार्य पूरा गरिसकेको छ । रेलवे सञ्चालनअघि नेपाली पक्षका कर्मचारीलाई प्रशिक्षण दिन २ असारमा भारतीय कर्मचारी जनकपुर आइसकिएको महाप्रबन्धक गुरुप्रसाद भट्टराईले बताउनुभयो । कोरोनाको दोस्रो लहर सुरु हुनुअघि पनि नेपाली कर्मचारीलाई तालिम दिन भारतीय कर्मचारीहरू जनकपुर आएका थिए । तर, तालिम सुरु भएको २ दिनमै लकडाउन सुरु भएपछि उनीहरू भारत फर्केका थिए ।
रेल सञ्चालनका लागि भारतीय रेल कम्पनी कोन्कणसँग वार्षिक ३५ करोडमा रेल सञ्चालन गर्ने सहमति भएको छ । आवश्यक मेसिन, ट्र्याक मर्मतलगायतका काम कोन्कण रेल्वेजले गर्नुका साथै नेपालीलाई सिकाउनेछ । एक वर्षका लागि गरिएको यो सम्झौताअनुसार ३५ करोड १२ लाख रुपैयाँ खर्च हुनेछ । कम्पनीका अनुसार पहिलो वर्ष आय भने १० करोड रुपैयाँ हुने प्रक्षेपण छ । रेल सञ्चालनका लागि तत्कालीन जनकपुर–जयनगर रेलवेका पुराना कर्मचारी ७५ जना, चालकसहित प्राविधिकका २६ जना भारतीय कर्मचारी र प्रशासनका लागि १० जना कर्मचारीलाई करारमा नियुक्त गरिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले बताउनुभयो ।
कोरोना संक्रमणको अवस्था सामान्य भएलगत्तै असार महिनाभित्रै सञ्चालनको योजनामा रहेको रेलवेको भाडादरसमेत फाइनल भइसकेको छ । रेलवेको न्यूनतम टिकट १५ रुपैयाँको हुनेछ । अर्थात् एक स्टेसनबाट अर्को स्टेसनसम्म जान कम्तीमा १५ रुपैयाँको टिकट खरिद गर्नुपर्छ । त्यसैगरी, जनकपुरदेखि जयनगरसम्मको साधारण भाडा ७५ रुपैयाँ र एसीमा ३ सयसम्म तोकिएको छ । त्यसैगरी, तत्काल बिहान, दिउँसो र बेलुका गरी दैनिक तीनपटक जनकपुर–जयनगर रेल सञ्चालन हुनेछ ।
कृपया हाम्रो Youtube Channel लाई Subscribe गरि सहयोग गर्नुहोस
फेसबुकबाट तपाईको प्रतिक्रिया !