देशका विभिन्न नदीहरुमा शुक्रबार पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने, कोशी र यसका स–साना सहायक नदीमा बहाव उल्लेख्य बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान गरिएको महाशाखाले जानकारी दिएको छ। शुक्रवार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव स्थिर अवस्थामा रहेको र सतर्कता तहभन्दा तलै रहेको पनि महाशाखाले जनाएको छ। तर दिउँसो पानी पर्ने र केही नदीहरुमा आकस्मिक बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ।
आज पश्चिम राप्ती, बबईमा बहाव केही बढ्ने तर सतर्कता तह भन्दा तलै हुने अनुमान गरिएको छ। कन्काई, कमला, बागमती जलाधारका स–साना सहायक नदीमा क्षणिक, मध्यम तथा भारी वर्षा भई बहाव बढ्ने र केही स(साना नदीमा आकस्मिक बवाह बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुंगा, धनकुटा, ताप्लेजुङ संखुवासभा, प्रदेश २ को सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी तथा बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, काठमाडौँ, सिन्धुली, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पाल्पा, म्याग्दी, बागलुङ, मनाङ, लुम्बिनी प्रदेशको गुल्मी, पाल्पा, कपिलबस्तु, रुपन्देही, दाङ, कर्णाली प्रदेशको मुगु, डोल्पा र सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, अछाम, कञ्चनपुर र कैलाली आसपासका जिल्ला भई बहने स(साना नदी जलाधारमा बहाव केही बढ्न सक्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ।
मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले नेपालको दक्षिण भू(भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेको छ। त्यसैको प्रभावले आज देशका अधिकांश भू–भागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !