धनुषाको यदूकुहामा एक १५ वर्षीय किशोरमाथि प्रहरीले निर्घात कुटपिट गरेका छन् ।
धनुषाको शहिदनगर नगरपालिका यदूकुहास्थित ईलाका प्रहरी कार्यालयमा चोरीको आरोपमा ती किशोरलाई कुटिएका हुन् । शहिदनगर नगरपालिका ४ ननुपट्टीका १५ वर्षीय बालक रविशंकर कुमार पण्डितलाई चोरीको आरोपमा कुटपिट गरी घाइते बनाएको पीडित परिवारको आरोप छ । प्रहरीको कुटाईबाट घाइते किशोर बेहोस् भएपछि शनिबार साँझ ७ बजे मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराइएको किशोरका काका बिन्देश्वर पण्डितले जानकारी दिए ।
किशोरका काका बिन्देश्वरले भने, ‘जसको घरमा चोरी भएको छ, उसको घर मेरो भतिजो सधैँ दूध पुर्याउन जान्थ्यो, शनिबार पनि गएको थियो, सधैझैं दूध पुर्याएर आयो, तर पछि १२ बजे प्रहरी चौकीमा लागेर सोधपुछ गर्नुको साटो पाईपले पिटियो ।’ चोरी भएको मनिष गुप्ताको घरमा आफु दूध पुर्याउन सधैँजसो गएपनि चोरी नगरेको भएपनि प्रहरीले सोधेर चोरी नगरेको भनेपछि पाईपले आफूलाई कुटेको किशोरको भनाइ छ । किशोरको दुवै पैताला, हातको औला, खुट्टाको औला सुन्निएको र खुट्टाको तिघ्रामा पाईपको निलडाम बसेको छ ।
यता किशोरका पिता शत्रुधन पण्डितले घरमा कोही नभएको बेला बोलाएर प्रहरी चौकीमा लगेर पिट्नु आफुहरुमाथि अन्याय भएको बताए । उनले भने, ‘सोधपुछ गर्नुथ्यो गर्यो तर मेरो छोरालाई बेहोस् हुने गरी नदेखिने ठाउँमा पाईपले पिटेको छ ।’ गत शुक्रबार राति शहिदनगर ३ यदुकूहास्थित मनिष गुप्ताको घरमा चोरी भएको थियो । ईलाका प्रहरी कार्यालयको झण्डै सय मिटर दुरीमा रहेको स्थानमा चोरी भएको प्रहरी निरीक्षक संवित भण्डारीले जानकारी दिए ।
चोरी भएको घरको सीसीटिभी फुटेजको आधारमा सोधपुछ गरिएपनि किशोरमाथि कसैले कुटपिट नगरेको उनले बताए । प्रहरी कार्यालयबाट अभिभावकले बुझेर लादा कुटपिट भएको थिएन तर घर लैजादा लैजादै कसरी कुटपिट भयो भन्नेमा आफुलाई थाहा नरहेको उनको भनाइ छ ।
source:todaypati.com
फेसबुकबाट तपाईको प्रतिक्रिया !