सिन्धुलीस्थित कमला नदीमा भीषण बाढी आएको छ ।
कमला नदीको रानीबास जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानको मापनानुसार सो स्थानमा जलसतहले सतर्कता तह पार गरेको तथा बढ्दो रहेकाले नदी तटीय र डुबान भइरहने क्षेत्रहरुमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तै, पूर्वी राप्ती जलाधारको रजैया, मकवानपुगढी र आसपास पछिल्लो ६ घण्टा भारी वर्षा मापन भएको छ । उक्त जलाधारका स–साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने भन्दै नदी तटीय र होचा तथा डुबान हुने क्षेत्रमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।
आजै बिहानको मापनानुसार परासीस्थित बर्दाघाट वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको छ । उक्त क्षेत्रका स–साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने भएकोले तटीय क्षेत्रमा दिउँसोसम्म सतर्कता अपनाउन पनि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाशाखाले आग्रह गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !