सप्तरीमा ‘अज्ञात रोग’ले एक जनाको मृत्यु भएको छ भने २५ जना भन्दा बढी बिरामी परेका छन् । जसमध्ये ६ जनाको अवस्था गम्भीर छ । टाउको दुख्ने, ज्वरो आउने र पखालाको लक्षण देखिएका महदेवा गाउँपालिका–२ चकलाकी ४० वर्षीया सीतादेवी रजकको मृत्यु भएको हो ।
बिहीबार साँझ साढे ७ बजे टाउको दुख्ने, ज्वरो आउने र पखाला लाग्ने समस्या भएपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएकी उनको राति साढे ९ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जितकुमार झाले जानकारी दिए । फुड प्वाइजनिङ भइ पखाला लागेको हुनसक्ने अनुमान गरिए पनि ज्वरोसमेत आएकाले के कारणले मृत्यु भएको हो भन्ने विषयमा परीक्षण भइरहेको डा. झाले बताए । सोही लक्षणबाट मृत्यु भएकी रजककै परिवारका तीन जनालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उनीहरुको अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि धरान रिफर गरिएको छ ।
यस्तै, महदेवा गाउँपालिका–२ चकलाटोलसँगै जोडिएको तिलाठी कोईलाडी गाउँपालिका–८ तोपाको उत्तर टोलमा पनि यस्तै लक्षणका २१ जना बिरामी छन् । तिलाठी कोईलाडी –८ का विभिन्न परिवारका सदस्यहरुलाई टाउको दुख्ने, वान्ता हुने, ज्वरो आउने र पखाला लाग्ने समस्या बिहीबार साँझदेखि देखिएको स्थानीय सत्यनारायण यादवले बताए । तीमध्ये उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका ८ वर्षीय कृष्णकुमार मण्डल, ३० वर्षीया प्रयागीदेवी खंग र ६ वर्षीय पारसकुमार मण्डललाई थप उपचारका लागि धरान रिफर गरिएको अस्पतालले जनाएको छ । स्थानीय सत्यनारायण यादवका अनुसार अस्पताल नगएका बिरामीहरुको स्थानीय मेडिकल र घरमै स्लाइन पानी लगाइ उपचार भइरहेको छ ।
अवस्था बुझ्न स्वास्थ्यकर्मीको टोली पुग्यो
सप्तरीको महादेवामा बिरामी परेकाहरुको अवस्था बुझ्न स्वास्थ्यकर्मीको टोली पुगेको छ । महादेवा गाउँपालिका वडा नम्बर २ मा अज्ञात रोगबाट अस्ति सीतादेवी रजकको ज्यान गएको थियो ।
अरु २५ जना स्थानीय बासीन्दा बिरामी परेका थिए । धान रोपाइँमा गएकाहरुले खाएको खाजाले फुडपोइजन भएको हुन सक्ने डाक्टरले बताएका सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो । अहिले धेरै बिरामी निको भएर घर फर्किसकेका छन् भने धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना र विराटनगरमा दुई जनाको उपचार भइरहेको छ । धेरैजना एकैपटक बिरामी भएपछि गाउँमा स्वास्थ्यकर्मीको टोली पठाइएको छ । आज तिलाठीको इलाडी र महादेवामा पुगेको स्वास्थ्यकर्मीको टोलीले त्यहाँ रहेका बिरामीको अवस्था बुझ्ने र आवश्यक परे अस्पताल रेफर गर्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।
बिरामीमा टाउको दुख्ने, बान्ता हुने, पेट दुख्ने, ज्वरो आउने र पखाला लाग्ने जस्ता समस्या देखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !