भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको सडक विभाग हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनुषाको हालबेहाल देखिएको छ ।
आइतबार बिहान सञ्चारकर्मी त्यहाँ पुग्दा एकजना कर्मचारी कार्यकक्षमै मस्त निन्द्रामा सुतिरहेका थिए । कार्यालय समयमा आफ्नो कार्यकक्षमा सुतिरहेका ति कर्मचारी हुन्,सोधपुछ तथा मुआब्जा शाखाका योगेन्द्र यादव ।
रिभल्विङ्ग चेयरमा पल्टिएका उनी टेबलमाथि दुबै खुट्टा राखेर मस्त निन्द्रामा सुतिरहेका थिए । कार्यालयमा को आयो, को गयो भन्ने हेक्का उनलाई थिएन । सिलिङमा पंखा घुमिरहेको थियो । उनी भने मस्त निदाएका थिए ।
कार्यालयका अन्य कोठाहरु पनि खाली थिए । कोठामा पंखा घुमिरहेका थिए भने कार्यालयका अन्य सामग्रीहरु यत्रतत्र छरिएका थिए ।
यस सम्बन्धमा बुझ्नका लागि कार्यालयका सूचना अधिकारी इन्जिनियर बेचन कुमार भण्डारीको मोबाइल नम्बर ९८५४०२९८३२ मा फोन गर्दा उनको सालोले फोन उठाएर भिनाजु अहिले हुनुहुन्न बाहिर जानुभाछ भनेर जवाफ आयो ।
उनले अफिसको मोबाइल आफ्नो सालोलाई दिएका रहेछन् । उनी पनि आज कार्यालय गएका थिएनन् ।
news/photo:therealsamachar.com
फेसबुकबाट तपाईको प्रतिक्रिया !