विवाह अगावै बच्चा जन्माएकी धनुषाको औरही गाउँपालिका–६ की १६ वर्षीया किशोरी विचल्लीमा परेकी छिन् ।
प्रेममा परेकी मण्डल थरकी ती किशोरी गर्भवती भएपछि नै प्रेमी फरार भए । यद्दपी उनी गर्भ फालिनन् । साउन ८ गते उनी अस्पतालमा बच्चाको जन्म त दिइन् तर, अब बच्चालाई कसरी हुर्काउने भन्ने उनलाई चिन्ता छ । ती किशोरीले स्थानीय रबिन्द्र मण्डलले आफूलाई गर्भवती बनाएर फरार भएको बताएकी छिन् । गर्भ वसेपछि रबिन्द्र अचानक सम्पर्क विहीन भए । त्यसपछि किशोरीले आफ्न्तलाई सबैकुरा बताएकी थिइन् । घटना सार्वजनिक भएपछि गाउँमा पटक पटक समाजका अगुवाहरुले फरार केटाका आमा–बुवालाई बोलाएर छलफल गराए । तर रबिन्द्रका परिवारले ती किशोरीलाई राख्न तयार भएनन् । स्थानीयका अनुसार रबिन्द्रका आफ्न्तले ती किशोरीलाई गर्भ फालेपछि ५ लाख रुपैयाँ दिनेसम्मको प्रलोभन दिएको थियो । तर, किशोरीले विवाह गर्ने वाचा गरेका कारण उनीसँगै बिहे गर्ने अडान कायम राखिन् । अहिले पनि उनी रबिन्द्रसँगै जीवन विताउने बताउँछिन् । तर रबिन्द्र अझै सम्पर्कमा आएका छैन । ती किशोरीको घरमा कमाउने कोही छैन । आमा अरुको घरमा मजदुरी गरेपछि जसोतसो परिवार पाल्छन् । उनको बुवाको तीन वर्ष अगाडी नै निधन भइसकेको छ । आर्थिक विपन्नताकाविच जन्म दिएकी बच्चालाई पाल्न उनलाई धौ–धौ परेको छ ।
अस्पतालमा अप्रेशन गरी बच्चा जन्माउनु परेका कारण ६५ हजार रुपैया खर्च भई सकेको छ । गाउँकै एक जनासँग सयकडा ४ रुपैयाँ ब्याज दिने सर्तमा ऋण लिएर उनी अस्पतालको बिल तिरेको बताइन । प्रेमको नाममा धोका दिने रबिन्द्रमाथि उनी प्रहरीमा उजुरी समेत दिएकी छन् । तर प्रहरी अहिलेसम्म रबिन्द्रलाई पक्राउ गर्न सकेको छैन । पीडित किशोरीले रबिन्द्रलाई पक्राउ गरेर कारबाही गर्नुभन्दा पनि उनीसँगै घरमा बस्ने वातावरण बनाइदिनुपर्ने बताउँछिन् । यता, जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतले युवकले गर्भवती बनाएर फरार भएको अवस्थामा बच्चा जन्माइसकेपछि किशोरीले अदालतमा जर्वजस्ती करणी मुद्दा वा नाता कायम सम्बन्धी मुद्दा दिन सकिने जानकारी दिए । डिएसपी बस्नेतले भने–‘यदि किशोरीले बच्चा माइतमै बसेर हुर्काउन चाहेकी छन् भने अदालतमा जर्वजस्ती करणी मुदा दर्ता गराउन सक्छिन् । र केटासँग बस्न चाहेको अवस्थामा नाता कायम गराउने सम्बन्धी मुद्दा हाल्नुपर्छ । त्यपछि मात्र उनी न्याय पाउने छिन् ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !