जनकपुरधाम । प्रदेश २ मा बिहीवार कोरोना संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार सर्लाहीमा ४ जना संक्रमित भेटिएका छन् ।
सप्तरी र बारामा २/२ जनामा संक्रमण देखिएको छ । यस्तै धनुषा, सिरहा र महोत्तरीमा १/१ जनामा संक्रमण पुष्टि भएको छ । केहिदिन यस प्रदेशमा संक्रमित १ सयभन्दा तल झरिसकेको थियो । तर बिहीवार १०२ पुगेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेपनि पछिल्लो समय जताततै मानिसहरु स्वास्थ्य मापदण्डको धज्जी उडाएका छन् । भीडभाड गर्न पनि मास्क लगाउने गरेको देखिदैन । नेपाल प्रहरीले ‘तपाईको मास्क खोई ?’ अभियान चलाएपनि जनस्तरमा खासै त्यसको प्रभाव पर्न सकेन । तीजको अवसरमा भीडभाड हुने खालको कार्यक्रम नगर्न देशका अधिकांश सिडिओ कार्यालयले निर्देशन जारी गरेको थियो ।
यहि गतिमा कोरोना संक्रमितको संख्या बढ्दै गएभने फेरि प्रदेश २ का जिल्लाहरुमा निषेधाज्ञा लागु गर्नु पर्ने सम्भावना देखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !