राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मस्थल भोजपुरको आम्बोटेमा श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय निर्माण भइरहेको छ । ५५ रोपनी क्षेत्रफलमा बनिरहेको शिक्षालयका लागि राष्ट्रपतिले पहलकदमी लिँदै निःशुल्क जग्गादान गर्नुभएको छ ।
दुरदराजका विद्यार्थीलाई प्राविधिक तथा व्यवसायिक शिक्षा दिने उद्देश्यले राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मस्थान भोजपुरको रामप्रसादराई गाउँपालिका ५ आम्बोटेमा १४ करोड लागतमा श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयको निर्माण थालिएको छ ।
राष्ट्रपातिका बुवा, आमाको नाममा बन्दै गरेको शिक्षालय निर्माणका लागि राष्ट्रपतिसँगै उहाँको परिवारले निशुल्क जग्गादान गरेका छन् । ५५ रोपनी क्षेत्रफल भित्र अहिले करिब डेढ रोपनी क्षेत्रफलमा बनिरहेको एकाडेमिक भवन निर्माणको काम ४० प्रतिशत सकिएको ईन्जिनियर नारायण अधिकारीले जानकारी दिनुभयो ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सिटीइभिटी)बाट सम्बन्धन प्राप्त शिक्षालयमा शुरुमा बालीविज्ञानको अध्ययन गराइने र माग अनुसार आगामी दिनमा थप विषयहरु थप्दै लैजाने स्थानीयबासी सुरेन्द्र पाण्डेले बताउनुभयो ।
गत वर्षको फागुनबाट निर्माण शुरु भएको शिक्षालयको निर्माण सम्पन्न अवधि आगामी वैशाख महिनासम्म रहेको मार्सेली निर्माण सेवाका प्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रपतिले आफ्नै ठाउँमा ठूलो लगानीमा प्राविधिक शिक्षालय स्थापना गरिदिएपछि प्राविधिक शिक्षा लिन अन्यत्र जानुपर्ने बाध्यता हट्ने स्थानीयबासीको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !