पर्वतबाट १४ वर्षीया किशोरीलाई फकाएर भारततर्फ बेच्न लाँदै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोदी गाउँपालिका–५ घर भएका २४ वर्षीय सुर्यबहादुर भण्डारी छन् । सुर्यबहादुरले प्रेमको अभिनय गरेर किशोरीलाई नेपाल भारत सिमानाको जोगबनी नाकासम्म लगेको पर्वतका डिएसपी शिवराज बुढाथोकीले बताए ।
किशोरीलाई बेच्नका लागी आफूतर्फ आकर्षित गर्न भण्डारीले मोबाइल पनि किनिदिएका थिए । जोगबनी नाका पार गर्ने बेलामा त्यहाँ खटिएका सुरक्षाकर्मीलाई सुर्यबहादुरले ‘दाजु बहिनी भन्नु’ भनेर सिकाएका थिए ।
जोगबनी नाकामा खटिएको प्रहरी टोलीले शंका लागेर किशोरीका अभिभावकलाई फोन गरेपछि सुर्यबहादुरले उनलाई बेच्न लाँदै गरेको पोल खुलेको थियो । किशोरी र आरोपीबीच केही दिनअघि मात्र सामान्य चिनजान भएको थियो ।
आरोपीलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत पर्वतबाट म्याद लिएर अनुसन्धान शुरु गरिएको डिएसपी बुढाथोकीले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !