जनकपुरधामका व्यापारीहरुले सोमबार साँझ भन्सार कार्यालय जनकपुरधाम घेराउ गरेका छन् ।
खसी बोका लिलाम गरेपछि आक्रोसित बनेका व्यापारीहरुले साँझ भन्सार कार्यालय घेराउ गरेका हुन् । जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा रहेका व्यापारीहरुले कार्यालय घेराउ गरेका हुन् । उनीहरुले खसी बोकाको व्यापार गर्ने व्यापारीहरुमाथि सुरक्षानिकायले अन्याय गरेको भन्दै कार्यालय घेराउ गरे । हेटौडा, निजगढ, हरिवन लगायत विभिन्न स्थानका किसानबाट खरिद गरी ल्याएको ५१ वटा खसी बोकासहित सात जनालाई लालगढ चौकीका प्रहरीले अवैध कारोबार गरेको भन्दै पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको थियो ।
प्रहरीले राति अपहरण शैलीमा खसी बोका व्यापारीहरुलाई पक्राउ गरेको आरोप व्यापारीहरुको छ । नियन्त्रणमा लिएको खसी बोकासहित सातै जनालाई लालगढ प्रहरीले ईलाका प्रहरी कार्यालय ढल्केबरमा बुझाएको थियो । यसपछि ढल्केबर प्रहरीले थप कारबाहीको लागि सोमबार भन्सार कार्यालय जनकपुरमा बुझाएको थियो । भन्सारका कर्मचारीहरुले केही घण्टा भित्रै ७५ हजार अतिरिक्त रकमसहित तीन लाखमा धनुषा तारापट्टीका खसी व्यापारी सुरेश साहलाई खसी बोका लिलामी गरेको आरोप जउवासंघका अध्यक्ष महासेठले लगाए । व्यापारीहरु आन्दोलित भएपछि भन्सार कार्यालयले तीन लाख धरौटी लिएर खसी बोका व्यवसायीहरुलाई फिर्ता गरेका छन् ।
धरौटी फिर्ताको लागि मुद्दा गर्नुपर्ने व्यापारी नेता सुरेन्द्र भण्डारीले बताए । यस्ता मुद्दा व्यापारीहरु हार्ने निश्चित हुने गरेको भण्डारीको कथन थियो । पीडित व्यापारीहरुले जउवासंघका प्रतिनिधि शसस्त्र प्रहरीका प्रतिनिधि, भन्सार कार्यालयका कर्मचारी गोपाल महतोसहित व्यवसायीहरुको रोहबरमा धरौटी लिएर राखेर खसी फिर्ता गरे । प्रहरीले खसी बोकाको पनि बिल माँग्ने गरेको छ, तर किसानहरुले बील नदिने भएपछि कहाँबाट बील दिने भन्ने प्रश्न खसी बोका व्यापारीहरुको रहेको छ ।
भारतबाट नेपाल आयात गर्दा मात्रै खसी बोकाको बील दिने प्रावधान रहेपनि नेपालकै एक जिल्लाबाट अर्को जिल्लाका व्यापारीले खरिद गर्दा बीलको आवश्यकता नपर्ने गरेको व्यापारीहरुको कथन छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !