धनगढी। कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिलासहित प्रहरीले दुई जनालाई सार्वजनिक गरेको छ।
हत्या अभियोगमा पक्राउ परेका धनगढी उपमहानगरपालिका-७ बेलीकी २७ वर्षीया अमृता चौधरी र उनका प्रेमी २९ वर्षीय विष्णु चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको हो । उनीहरु दुवै जना मिलेर अमृताका श्रीमान समेत रहेका २५ वर्षीय रमेश चौधरीको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए।
अमृता र विष्णुबीच केही वर्षदेखि प्रेम सम्बन्ध रहेको पाइएको बताउँदै एसपी अधिकारी शुक्रबार राति दुवै जनालाई रमेशले आपत्तीजनक अवस्थामा भेटेपछि घटना भएको जनाए । उनीहरुले रमेशको हत्या गरिसकेपछि राति नै शव बोकेर खुटिया नदी नजिकैको चौरमा फालेर घटनाबारे कसैलाई नबताउने शर्तमा दुवै जना घरतर्फ लागेको अनुसन्धानका क्रममा पाइएको उनले बताए ।
मृतक चौधरीका तीन वर्षीया छोरा छन्। यसअघि प्रहरीले हत्यामा संलग्न भएको आशंकामा अन्य दुईजनालाई समेत पक्राउ गरेको थियो। तर उनीहरुको संलग्नता नदेखिएपछि छाडिएको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !