अविरल वर्षाको कारण यस वर्षको कोजाग्रत पर्व प्रभावित बनेको छ ।
कात्र्तिक पुर्णिमाको दिन मनाईने कोजाग्रत यस वर्ष दुई दिन मनाउने भएको हो । मिथिलाँचल क्षेत्रमा नवविवाहिताहरु वरको कोजाग्रात पर्व मनाउने परम्परा रहिआएको छ भने जानकी मन्दिरमा विशेष रुपमा यस दिनलाई महोत्सवको रुपमा मनाउने गरिएको छ । परापूर्व कालदेखि नै जानकी मन्दिरमा महोत्तरीको रतौलीबाट १ सय ८ वटा कोशेली (भार) जानकी मन्दिरमा विधिवत रुपमा पठाउने परम्परा छ । यस वर्ष जानकी मन्दिरमा कोजाग्रात महोत्सव बुधबार मनाउने भएको हो भने सर्वसाधारणहरुले मंगलबार नै भोजभतेरको आयोजना गरेका छन । विधिवतरुपमा महालक्ष्मीको पूजापाठ गर्दै यस वर्षको विजयादशमी पनि कोजाग्रात पूर्णिमा संगै समापन हुनेछ । कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम रहने चलन छ । मिथिला क्षेत्रमा कोजाग्रतलाई कोजगरा भन्ने गरिन्छ । यस दिन पान, मखान, फलफूल, दही र मिठाई महत्वपूर्ण मानिन्छ । मिथिला क्षेत्रमा मंसिर, माघ, फागुन, जेठ र असार महिनासम्ममा विवाह भएका वरलाई बेहुली पक्षबाट बेहुलाको घरमा भार (कोसेली) पठाउने चलन छ ।
भारमा पान, मखान, फलफूल, दही, मिठाइ, सौंफ, मुमफली अनिवार्य नै हुन्छ भने बेहुला सहित उनको परिवारका हरेक महिला सदस्यका लागि कपडा पनि लाने परम्परा रहिआएको छ । बेहुलीको घरबाट बेहुलाको घरमा भार आएपछि बेहुलालाई चुमाउने गरिन्छ । अर्थात चुमाओन गरिन्छ । पुरोहितले मन्त्रोच्चारण गर्दै बेहुलालाई चुमाएपछि ठूलाबडाले दुर्वाक्षत सहित आर्शिवाद दिने गर्छन् । यस दिन बेहुलाहरुलाई मिथिलाको पाग लगाइ दिदैं ससुरालीबाट आउने कपडा पहि¥याउने गरिन्छ । बेहुलीकै घरबाट आउने डाला, धान, अक्षता, दही, केराजस्ता पूजा सामग्रीबाट बेहुलालाई चुमाउने गरिन्छ । बेहुलाको टाउकोदेखि खुट्टासम्मको पाँच प्रमुख स्थानलाई चुमाउने चलन छ । चुमाओन गरिनु भनेको एक मिसिमको आर्शिवाद दिनु हो ।
चुमाओन विधि सकिएपछि सामूहिक रुपमा भोजजस्तै खानपिनको आयोजना गरिन्छ । क्षमता हुनेले ठूलो भोजकै आयोजना गर्छन् यस दिन । यस अवसरमा मिठाइ, मखान, पान बाँड्नैपर्ने हुन्छ । खानपिनपछि कौडा सहित पचिसी खेल्ने चलन छ । आठ कौडीहरू र सोह्र गोटीद्वारा पासाका चौसठ्ठी बेहुला र बेहुलीका दाजु वा भाईबीच खेलिन्छ । बेहुली पक्षबाट यस दिन भारका साथै अन्य सामानहरु पनि दिने चलन छ । आभूषण, औंठी, छाता, घडी पनि बेहुला पक्षलाई बेहुली पक्षले दिनुपर्ने हुन्छ । यस दिन छोरीको विवाह गर्दा प्रतिबद्धता गरे अनुसारको बाँकी रहेका दाइजो पनि दिने चलन छ । यस दिन बेहुली पक्षबाट कम्तीमा पाँच जनादेखि ११ या १५ जनासम्म भार लिएर आउने गर्छन् । क्षमता हुनेले सय वटासम्म र नहुनेले कम्तीमा ११ वटासम्म भार पठाउनुपर्ने हुन्छ । छोरीको विवाह भएर विदाई गर्ने बेलामा दिइने कोसेली झैं कोजगरा पर्वमा पनि कोसेलीहरु दिइने गरिन्छ । मिथिला संस्कृति अनुसार यसअघि मधुश्रावणीका दिन बेहुलाको घरबाट बेहुलीको घरमा भार पु¥याउनुपर्ने हुन्छ । शरद पूर्णिमाको चन्द्रमालाई पूर्णयौवन सम्पन्न चन्द्रमा मानिन्छ। यस दिनको ज्योत्स्नामा अमृत तत्वको वर्षा हुने विश्वास रहेको छ । कोजागरा पर्वलाई जागृति पर्व पनि मानिएको छ। त्यसैले यस पर्वलाई विष्णुत्वको प्रतीकका रूपमा समाजले स्वीकार गरेको पाइन्छ ।
मैथिल संस्कृति अनुसार यो पर्व पारिवारको समृद्धि र सौभाग्यका लागि मनाइजे जनविश्वास छ। मैथिली संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवम् शीतल रातिका रूपमा प्रसिद्ध मानिएको छ । यस अवसरमा कुँवेर र इन्द्रको पूजा पनि गरिने प्रचलन छ। मैथिल संस्कतिको एउटा प्रमुख अंग रहेको सो पर्वमा परिवारका सदस्यले पान, मखान र मिठाइ खाने तथा एक अर्कासँग प्रेमपूर्वक भेटघाट गर्ने गर्छन्। कोजगराका दिन जनकपुरधामस्थित जानकी मन्दिरमा उत्सव नै मनाइन्छ ।
यो उत्सवमा जानकी मन्दिरका महन्थले भगवान् राम र माता सीताको प्रतीकात्मक कोजागरा गर्ने गर्छन् । यस दिन महोत्तरीको रतौलीबाट आउने भार आउँछ । बनौली निवासी महेन्द्र ठाकुरको घरबाट फलफूल मिठाई दही च्यूरा, पान मखानसहितका १ सय ८ वटा भार आउने परम्परा अझ कायम रहेको छ । बुधबार भार पठाईने तयारी भईसकेको जनाईएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !