जनकपुरधाम उपमहानगरपालिकाले फोहर व्यवस्थापन गर्न कुनै चासो नदेखाएकाे भन्दै वडाध्यक्षहरु काठमाडौं पुगेर मेयर लालकिशाेर साहविरूद्ध प्रदर्शन गरेका छन् । जनकपुरधाम ३ का अध्यक्ष दीपेन्द्र साह, ४ का अध्यक्ष सुदर्शन सिंह, ७ का अध्यक्ष जानकीराम साह र वडा सदस्यहरुलगायत २४ जना जनप्रतिनिधिकाे टोली काठमाडौं पुगेर प्रदर्शन गरेका हुन् ।
साथै सामान्य प्रशासन मन्त्रालयमा ज्ञापन पत्र पनि बुझाएको बताइएको छ । स्थानीय तहकाे चुनावका बेला मेयर साहले सरसफाइकाे मुद्दालाई प्राथमिकतामा राखेकाे तर चुनाव जितेपछि ध्यान नदिएकाे आन्दोलित जनप्रतिनिधिको आराेप छ । उनीहरुले मेयर साहले व्यापक भ्रष्टाचार गरेको दावी पनि गरेका छन् । फोहर व्यवस्थापनको लागि अहिलेसम्म कुनै पहल नभएकाे वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र साहले बताए ।
उनले भने, ‘हामी नगरमा दबाब दिएर थाकिसक्याैँ । सफा गर्छाैँ भनेर आश्वासन मात्रै पाइयाे, काम हुनै नसकेपछि मेयरकाे राजीनामा माग्न काठमाडाैंमा प्रदर्शन गरेका छौं ।’ केहीदिन अघि मात्र पनि वडा ३, ७ र ४ का अध्यक्षहरूले संयुक्त रूपमा मेयरलाई भेटेर सफाइका लागि दबाब दिएका थिए । उनीहरूले माग सुनुवाइ नभएपछि मेयर साहको कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए ।
लामाे समयदेखि फाेहर उठ्न नसक्दा धार्मिक नगरी जनकपुरधाम कुरूप र दुर्गन्धित बनेकाे छ ।
Please follow us for more news and information.
फेसबुकबाट तपाईको प्रतिक्रिया !