विराटनगर भन्सार कार्यालयमा कार्गो रेल चलाउन नेपाल इन्टरमोडल यातायात विकास समितिले तयारी थालेको छ । समितिले कार्गो रेल सञ्चालनको पूर्वाधार तयार गर्न टेण्डर आह्वान गरेको हो ।
समितिले बुधबार विराटनगर एकीकृत भन्सार जाँच चौकी (आईसीपी)मा रेल र्याड र कन्टेनर यार्ड सञ्चालनका लागि पूर्वाधार निर्माणको ठेक्का आह्वान गरेको हो । समितिका कार्यकारी निर्देशक आषिस गजुरेलले ठेक्का आह्वान भएको बताए । उनले विराटनगर भन्सारमा कार्गो रेलमार्फत सामान ढुवानी सुरू भएमा लोजिस्टिक कस्टमा उल्लेख्य गिरावट आउने बताए ।
गजुरेलले विराटनगर एकीकृत जाँच चौकीसम्म कार्गो रेल चल्न थालेमा ३० प्रतिशतसम्म ढुवानी लागत घट्ने जानकारी दिए । समितिका अनुसार कार्गो रेल सञ्चालनको पूर्वाधार निर्माण ठेक्का ७० करोड आसपासको हुने छ । ३ महिना ठेक्का प्रक्रियामा जाने र ठेक्का सम्झौता भएको १ वर्षभित्र निर्माणको काम सकिने समितिले जनाएको छ ।
निर्माणमा सहभागी जनाउन चाहने व्यवसायीले असोज २५ गतेसम्ममा आवेदन दिनुपर्ने बताइएको छ ।
please follow us for more news and information.
फेसबुकबाट तपाईको प्रतिक्रिया !