कृषि सडक निर्माणमा रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका निवर्तमान मेयर र उपमेयरसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नगरपालिकाले आव २०७४/७५ का लागि वडा नम्बर ८ स्थित बिसरभोरा नहरदेखि गोठ कोयलपुरसम्म कृषि सडक निर्माण गर्दा फर्जी कागजात बनाएर फिल्डमा भएको भन्दा बढी रकम उल्लेख गरी रकम हिनामिना गरेको कसुरमा अख्तियारमा उजुरी परेको थियो । उजुरीको अनुसन्धान गर्ने क्रममा उपभोक्ता समितिमार्फत भएको काममा वास्तविकभन्दा बढी काम देखाएर २ लाख १२ हजार ८ सय १६ रुपैयाँ हिनामिना गरेको पुष्टि भएपछि निवर्तमान नगरप्रमुख उदयकुमार बरबरिया, उपप्रमुख शिलादेवी कापरी, तत्कालीन लेखा समिति संयोजक जैसीलाल भिनवार यादव र सुशासन समितिका संयोजक कन्हैया मुखियाविरुद्ध हिनामिना भएको रकम बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवानाको माग दाबी गरिएको छ ।
त्यस्तै इन्जिनियर सञ्जय यादव र वडा नम्बर ८ का अध्यक्ष तनुकलाल कुसियत तथा योजना शाखा प्रमुख विन्देश्वर यादवविरुद्ध पनि हिनामिना भएको रकम बमोजिम बिगो त्यति नै जरिवाना र कैद सजाय माग गरिएको छ । आर्थिक प्रशासन प्रमुख नन्दकुमार झालाई छुट्टै बिगो, त्यति नै जरिवाना र कैद सजाय तथा हिनामिना भएको रकम असुलउपर गर्न भनिएको छ । सोही योजना सञ्चालन गर्ने जिम्मा पाएका उपभोक्ता समितिका अध्यक्ष कारी चमार, कोषाध्यक्ष रेखाकुमारी र सचिव मुकेश लखनदेव यादवविरुद्ध पनि बिगो, कैद र जरिवाना तथा बिगो जफतको मागदाबी गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरूबाट गलत प्रतिवेदन बनाएर रकम हिनामिना गरेको, फर्जी कागजात पेस गरेर भुक्तानी लिएकोलगायतका कसुरमा अभियुक्त बनाइएको छ ।
लेखा प्रमुख झा सहित १२ कर्मचारी निलम्बित
जनकपुरधाम उपमहानगरपालिकाका लेखा अधिकृत नन्दकुमार झा निलम्बनमा परेका छन् ।
२०७४/५ मा तत्कालीन शहीदनगर नगरपालिकामा रहेका झासहित १२ जनाले कृषि सडक निर्माण कार्यमा रकम निकासा भएकोमा उक्त रकम हिनामिना गरेको उजुरी परेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा भ्रष्टाचार भएको ठहर भएपछि विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरिएको छ । विशेष अदालतमा मुद्दा दायर भएपछि पद स्वतः निलम्बनमा पर्ने भएकाले झा निलम्बनमा परेका छन् । अख्तियारले सजाय हुन मागदाबी लिइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम सोमबार बिशेष अदालत, काठमाण्डुमा आरोपपत्र दायर गरेको छ ।
please follow us for more news and information.
फेसबुकबाट तपाईको प्रतिक्रिया !