मुख्यमन्त्री सरोज कुमार यादवले खेलकूद पूर्वाधारमा मधेश प्रदेशलाई देशकै नमूना बनाउने घोषणा गर्नुभएको छ ।
आज बिहान जनकपुरधाम–१४ स्थित रामजानकी अन्तराष्ट्रिय स्टेडियम निर्माणस्थलको निरीक्षण गर्नुहुँदै मुख्यमन्त्री यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहयोग गर्नुभएको एक अर्व रुपैयाँ स्टेडियम निर्माणमा खर्च गरिने जानकारी दिनुभयो । ‘म भन्दा पहिलेको मधेश सरकारले धर्मशाला बनाउने प्रयास गरेको थियो, त्यो पनि संचालनमा आएन् । त्यसैले उक्त रकमको उपयोग अन्तराष्ट्रिय स्टेडियम निर्माण गरेर मधेश प्रदेशलाई सबै प्रकारको खेलको हव बनाउने योजना रहेको छ’ उहाँले भन्नुभयो ।
आउँदो तीन वर्षभित्र स्टेडियम निर्माण कार्य पूरा हुने गरी प्रदेश सरकारले काम अगाडि बढाउने बताउनुभयो । भारत सरकारले दिएको आर्थिक सहयोग अपुग भए प्रदेश सरकार ५० करोडदेखि सय करोडसम्म बजेट उपलब्ध गराउन तयार छ, उहाँले घोषणा गर्नुभयो । उहाँले भन्नुभयो–आगामी ११औं राष्ट्रिय खेलकूद मधेश प्रदेशमा आयोजना गर्नको लागि पहल थालेका छौं । जनकपुरधाम नगरपालिकाको समेत सहभागितामा राष्ट्रिय खेलकूद आयोजनाको लागि प्रदेशस्थित महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालयका सचिव रंजित यादवको संयोजकत्वमा कार्यदल समेत गठन गरिएको छ । कार्यदलमा आठै जिल्लाका प्रतिनिधिहरु रहेका छन् । कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा आगामी राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजनाको आप्mनो दावी पेश गर्ने मुख्यमन्त्री यादवले बताउनुभयो ।
मधेश प्रदेशमा अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्नको लागि खेलकूदलाई प्राथमिकतामा राखेर अघि बढ्ने मुख्यमन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो । खेलाडीले नै देश र प्रदेशको नाम विश्वसामु चिनाउने भएकोले उनीहरुलाई प्रोत्साहित गर्नको लागि प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने उहाँले जानकारी दिनुभयो । सो अवसरमा प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुर, शेषनारायण यादव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह लगायतको उपस्थिति थियो । स्टेडियम निर्माण स्थलमा मुख्यमन्त्री यादवसहितको टोलीलाई क्रिकेट प्रशिक्षक, खेलप्रेमी, खेलाडी लगायतले भव्य स्वागत गरेका थिए ।
please follow us for more news and information.
फेसबुकबाट तपाईको प्रतिक्रिया !