जनकपुरधाममा सद्भाव र्याली निकालिएको छ । हिन्दु र मुस्लिम समूदायका अगुवाहरुले सोमबार धार्मिक सद्भाव र्याली निकालेका छन् ।
पूर्व निर्धारित कार्यक्रम अनुसार सद्भाव र्याली जानकी मन्दिर प्राङगनबाट शुरु भइ जनकपुरधामको विभिन्न भागको परिक्रमा गर्दै जानकी मन्दिरमै आएर सम्पन्न भएको थियो । सो र्यालीमा हिन्दु र मुस्लिम समूदायका गुरु, अगुवा, समाजसेवी, सर्वसाधारण र धनुषा जिल्लाका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।
र्याली पश्चात जानकी मन्दिरका महन्थ तपेश्वर दास वैष्णवले आजको र्याली विश्वमै पहिलो पटक हिन्दु र मुस्लिम समूदायले एक रुपमा सदभाव कायम गर्न गरिएको एतिहासिक रहेको बताउनुभयो । उनले सबै धर्मको सम्मान गरि सबै जना मिलेर यो समाजमा बस्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै मुस्लिम अगुवा नेता मोहम्मद असगर अलिले आफ्ना कयौं पुस्ता यहि जनकपुरधामको पवीत्र जानकी मन्दिरको प्राङगनमा खेल्दै कुद्दै बस्दै आएको भन्दै सबै जना भाईचाराका साथ मिलिजुली बस्न आग्रह गर्नुभयो ।
त्यस्तै, कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले आज भएको र्यालीले हिन्दु र मुस्लिम समूदायबीचको मनमुटाव अन्त्य गर्ने विश्वास व्यक्त गरे । उनले भने ,‘दुई समुदायबीच देखिएको मनमुटाव समाप्त भइ सद्भाव कायम हुनेछ।’
मेयर साहले अब उपरान्त कुनै धार्मिक र्याली, सभा वा कुनै कार्यक्रम गर्नु पूर्व नगरपालिका र स्थानीय प्रशासनसंग समन्वय गरी मात्र गर्न आग्रह गरे ।
गत बिहीबार रामनवमीको अवसरमा जनकपुरधाममा भएका दुई समुदायबीच भएको तनावको विषयमा जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाइमा आइतबार बसेको सर्वपक्षीय बैठकमा सोमबार (आज) धार्मिक सदभाव र्याली निकालिने र त्यसमा दुबै समुदायको व्यक्तिहरु सहभागी रहने लगायतका निर्णय भएको थियो ।
कार्यक्रममा धनुषा जिल्लाका जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत सुरक्षा अधिकारीहरुको उपस्थित रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !